दोब्बर पुरस्कार राशीको ‘पुम्दी–भुम्दी पर्वतीय दौड’ असोजमा

santan ads

पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको दोस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता आउँदो असोज ४ गते शनिबार हुने भएको छ ।

पोखरा क्लिक प्रालिले आयोजना गर्ने यस प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा ‘पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवर्द्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ को वडा कार्यालय हुँदै निगालेडाँडामा रहेको कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुनेछ ।

दौडको कूल दूरी आठ किलोमिटर रहेको छ ।

पुरस्कार राशिमा उल्लेख्य वृद्धि

यस वर्ष प्रतियोगिताको पुरस्कार राशिमा गत वर्षको तुलनामा झण्डै दोब्बरले वृद्धि गरिएको छ । गत संस्करणमा ६८ हजार नगद राशि रहेकोमा यस वर्ष पुरस्कारमा २ लाख ६ हजार रुपैयाँ खर्च गरिनेछ, जसबाट कुल १८ जना धावक पुरस्कृत हुनेछन् ।

प्रतियोगितामा खुला, वडास्तरीय, महिला, यू–१६, पर्यटन तथा ४० वर्षमाथिका भेट्रान गरी ६ वटा इभेन्ट समावेश गरिएको छ ।

खुलातर्फको पुरस्कार:


प्रथम: ५० हजार रुपैयाँ
दोस्रो: ३० हजार रुपैयाँ
तेस्रो: १५ हजार रुपैयाँ
चौथो: ७ हजार रुपैयाँ
पाँचौँ: ३ हजार रुपैयाँ
छैटौँदेखि दशौँसम्म: जनही १ हजार रुपैयाँ

वडास्तरीय, खुल्ला महिला र यू–१६ तर्फका विजेताले जनही १५ हजार र उपविजेताले जनही ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसका साथै, ४० वर्षमाथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन गर्न जनही १५ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ ।

अनलाइन फारम र दर्ता शुल्क:
प्रतियोगितामा सहभागी हुनका लागि अनलाइन फारम भर्नुपर्नेछ ।

सोमबारदेखि खुला गरिएको अनलाइन फारम भदौ २५ गतेसम्म पोखरा क्लिक डटकममार्फत भर्न सकिने प्रतियोगिताका निर्देशक ओम लामाले जानकारी दिए ।

गत वर्षको पहिलो संस्करणमा बेलायत र ब्राजिलका खेलाडीसहित ७१ पुरुष र ३३ महिलाले नाम दर्ता गराएका थिए ।

प्रतिकुल मौसमका कारण ७९ जना मात्र दौडमा सहभागी भएका थिए, जसमा सशस्त्र प्रहरी बल (एपीएफ)का निरज भट्ट क्षेत्रीले खुलातर्फको उपाधि जितेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय धावक कुसाङ गुरुङले र तेस्रो पुरस्कार नेलम्बो नेपालले प्रायोजन गरेका छन् । नेलम्बो नेपालले मेडिकल सहयोग पनि उपलब्ध गराउनेछ ।

Scroll to Top