पोखरा । पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ ।
यही असोज २४ गते शनिबार पोखरा–२२ मा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।
यससम्बन्धी सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रतियोगिता अवधिभर आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचारका लागि अस्पतालले आवश्यक जनशक्ति र एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । कुनै घटना भई परेको खण्डमा अस्पतालमा प्रथामिकताका साथ उपचार गराइने भएको छ । आयोजकले मेडिप्लस हस्पिटललाई प्रतियोगिताको आधिकारिक ‘हस्पिटल पार्टनर’का रूपमा समावेश गर्ने सहमति भएको हो ।
पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने प्रतियोगिता पोखरा–२२ स्थित विश्वशान्ति स्तुपबाट सुरु भई विशाल महादेवको मूर्ति (पुम्दीकोट), पोखरा–२२ वडा कार्यालय हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ ।
प्रतियोगिताको दूरी करिब ८ किलोमिटर रहेको आयोजकले जनाएको छ । पुम्दी–भुम्दी क्षेत्रको खेल तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले
आयोजना गरिएको प्रतियोगितामा खुला, महिला, यू–१६, विदेशी पर्यटक, भेट्रान्स तथा वडास्तरीय गरी ६ विधामा धावकहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक विधाका विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि खेलाडीको नाम दर्ता खुला गरिएको प्रतियोगिता आयोजक संस्था पोखरा प्रवर्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । उनले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीलाई समयमै नाम दर्ता गराउन आग्रह गरेका छन् ।
प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहेको छ भने म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स हस्पिटालिटी पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा जोडिएका छन् । पोखरा टेलिभिजन अफिसियल टेलिभिजनका रूपमा रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेको छ । परिचय एड्भर्टाइजिङ, पोखरा महानगरपालिका–२२ वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको अनुमतिमा तथा पोखरा–२२ को समन्वयमा प्रतियोगिता आयोजना हुन लागेको हो । पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई खेलकुदसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।







