सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड रुपैयाँ (९० लाख अमेरिकी डलर) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो निर्णयबारे जानकारी दिएका हुन् ।
यो निर्णयसँगै स्याङ्जाको फेदीखोला गाउँपालिका-१, गुर्धुममा प्रतिष्ठानको प्रशासनिक र आवासीय भवन निर्माणको काम अघि बढेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त भवनको शिलान्यास गरे ।
गण्डकी प्रदेशका सामाजिक विकास सचिव राजेन्द्रदेव पाण्डे र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालका प्रतिनिधिबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो ।