कन्या क्याम्पस र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यको सम्झौता

santan ads

पोखराको नदीपूरस्थित कन्या क्याम्पस पोखरा र सिम्पानीमा शाखा रहेको राष्ट्रिय आविष्कार केन्द्रबीच आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

क्याम्पसमा कम्प्यूटर शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षिर गरी सम्झौता भएको क्याम्पस प्रशासनले जनाएको छ ।

सम्झौतामा क्याम्पस प्रमुख सुरेसकुमार मानन्धर र राष्ट्रिय आविष्कार केन्द्र पोखरा शाखाका प्रमुख इन्द्र ओलीले हस्ताक्षर गरेका छन् ।

क्याम्पसमा अध्ययनरत छात्राहरुलाई विभिन्न प्राविधिक तालिम तथा कार्यशाला आयोजना गर्ने, तालिम पश्चात छात्राहरुलाई रोजगारीका लागि पहल गर्ने, अनुसन्धानात्मक कार्य गर्ने, केन्द्रको विभिन्न आयोजनामा क्याम्पसका छात्राहरुलाई प्राथमिकता दिनेलगायत सम्झौपत्रमा उल्लेख गरिएको छ ।

आगामी २ बर्षको लागि गरिएको सम्झौतापत्रबारे जानकारी दिँदै केन्द्रका शाखा प्रमुख इन्द्र ओलीले क्याम्पससँग सहकार्य गर्न पाउनु केन्द्रको लागि गर्वको विषय रहेको सुनाए ।

हस्ताक्षर कार्यक्रममा सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ, व्यवस्थापन संकायका प्रमुख इन्द्रकमल मानन्धर, राष्टिय आविष्कार केन्द्रका कम्प्यूटर इन्जिनियर तथा कन्या क्याम्पसका पूर्व छात्रा ऐश्वर्या श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।


‘आगामी दिनमा तालिम, कार्यशाला, रोजगारी, अनुसन्धानात्मक क्रियाकलाप, इन्टर्नशिप जस्ता कार्यमा केन्द्र सदैव सहयोग गर्न तयार छ’ ओलीले भने ।
क्याम्पस प्रमुख मानन्धरले केन्द्रसँगको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

Scroll to Top