सामाजिक सुरक्षा कोषले संस्थापक सेयरमा लगानी गर्ने प्रस्ताव अगाडि बढाएको छ ।
निक्षेपमा ब्याजदर निरन्तर घट्दा प्रतिफलमा संकुचन आएपछि कोषले बैंक, वित्तीय संस्था तथा अन्य कम्पनीहरुको संस्थापक सेयरमा लगानी विस्तार गर्ने रणनीति लिएको हो ।
कोषसँग हाल कुल एक खर्ब १८ अर्ब रुपैयाँको व्यवस्थापनयोग्य रकम छ ।
वित्तीय प्रणालीमा अधिक तरलताका कारण निक्षेपको ब्याजदर घट्दा आम्दानीमा असर परेकाले संस्थापक सेयरमा लगानीका लागि कोषले आफ्नो सञ्चालक समितिमा प्रस्ताव पेस गरेको छ ।
सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्णराज अधिकारीले सञ्चालक समितिबाट स्वीकृति प्राप्त भएमा संस्थापक सेयरमा लगानी बढाइने जानकारी दिए ।
हाल कोषले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, डिबेन्चर, सरकारी ट्रेजरी बिल्स, विकास ऋणपत्र, म्युचुअल फन्ड र योगदानकर्तालाई प्रदान गरिने सापटी गरी ६ वटा क्षेत्रमा लगानी गरिरहेको छ ।
प्रवक्ता अधिकारीले भने, ‘हाम्रो कुल लगानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ ।’
कोषको एक खर्ब १८ अर्बको कुल रकममध्ये ८३ अर्ब ९३ करोड रुपैयाँ मुद्दती निक्षेपमा छ ।
उनका अनुसार विगत दुई वर्षयता निक्षेपको ब्याजदरमा आएको गिरावट र बैंकहरुले मुद्दती निक्षेपका लागि न्यून मात्रामा मात्र आह्वान गर्ने गरेकाले लगानीको क्षेत्र विस्तार आवश्यक परेको हो ।