बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

-


     नयाँ लिपि    
     कार्तिक ५ गते २०७८ मा प्रकाशित


बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ ।

संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम् ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने नियम पनि ल्याइएको छ ।

बैंक तथा वित्तीय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित गरिसकेको व्याजदरमा समेत माथिका दुई निर्देशन बमोजिम हुने गरी संशोधन गरी मिति कात्तिक ३ गतेभित्र बैंकको वेबसाइट मार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ ।

केन्द्रीय बैंकले उक्त परिबर्तित ब्याजदर कात्तिक ५ गतेभित्र दैनिक पत्रिकामा प्रकाशन गर्न समेत निर्देशन दिएको छ ।