नेपाल बिजुली बेचेर दैनिक १० करोड कमाउँदैछः बिबिसी

santan ads

नेपाल विद्युत् प्राधिकरणले भारत र बाङ्ग्लादेशलाई बिजुली बेचेर एकै दिन १० करोड रुपैयाँसम्म आम्दानी गरिरहेको बिबिसीले जनाएको छ ।

विद्युत् प्राधिकरणले बिहीवार २४ घण्टामा भारत र बाङ्ग्लादेशलाई गरेर १६,१६० मेगावाट आवर बिजुली निर्यात गरेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

प्राधिकरणले बाङ्ग्लादेशलाई ६.४ अमेरिकी सेन्टमा ४० मेगावाट विद्युत् बिक्री गर्दै आएको छ।

भारतलाई बिक्री गरिने विद्युत्‌को भने माग र आपूर्तिका आधारमा मूल्य तय हुने गरेको छ।

‘बिहीवार १६,१५० मेगावाट आवर विद्युत् निर्यात भएको रहेछ। त्यसको औसत मूल्य नेपाली ६ रुपैयाँ ६२ पैसा रह्यो। त्यस हिसाबले त्यस दिन मात्रै १० करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात भएको हाम्रो प्रणालीमा देखिन्छ,’ प्राधिकरणका प्रवक्ता ढकालले भने।

‘बिक्री हुने विद्युत्‌को परिमाण र मूल्य दुवै तलमाथि भइरहने भएका कारण हरेक दिन यति नै परिमाण र मूल्यको निर्यात हुन्छ भन्ने निश्चित हुँदैन।’

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट माग र आपूर्तिको प्रत्यक्ष निगरानी गरेर नेपाललाई बढी भएको विद्युत् बिक्री गर्ने गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार गत वर्ष असार २८ गते नेपालले एकै दिन सबैभन्दा ठूलो परिमाणमा विद्युत् निर्यात गरेको थियो। प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार असार २८ गते निर्यात भएको बिजुली १७,९२० मेगावाट आवर थियो।

दैनिक ६०० मेगावाटसम्म बिजुली निर्यात क्षमता

गत वर्ष भएको सम्झौताअनुसार यो असार १ गतेबाट विद्युत् प्राधिकरणले बाङ्ग्लादेशमा पनि नियमित विद्युत् निर्यात सुरु गरेको छ। नेपालले नोभेम्बरको अन्त्यसम्म बाङ्ग्लादेशलाई भारतको प्रसारण लाइन प्रयोग गरेर बिजुली बिक्री गर्छ।

वर्षायाम सुरु भएपछिका छ महिना विद्युत् निर्यात गर्ने लक्ष्य राखेको प्राधिकरणले हिउँदमा भने भारतसँग बिजुली किन्ने गरेको छ।

अहिले पनि द्विपक्षीय सन्धि अनुसार टनकपुरबाट नेपाललाई प्राप्त हुने बिजुली भारतबाट आयात भइरहेको प्राधिकरणका प्रवक्ता ढकालले जानकारी दिए। ‘त्यस बाहेक थप बिजुली किन्नुपर्ने अवस्था अहिले हामीलाई छैन,’ उनले भने।

प्राधिकरणका अनुसार अहिले नेपालमा प्रयोग भएर बढी भएको करिब दैनिक ६०० मेगावाटसम्म बिजुली निर्यात गर्न सक्ने क्षमता छ।

‘राति १ बजेको आसपास ६५० मेगावाटसम्म पुग्छ। हाम्रोमा पीक आवरमा अलि कम निर्यात हुन्छ,’ प्रवक्ता ढकाल भन्छन्।

नेपाल–भारतबीच १,५०० मेगावाट विद्युत् प्रसारण हुन सक्ने द्विदेशीय लाइनहरू उपलब्ध छन्।

तर चालु वर्षका निम्ति भारतले नेपाललाई निर्यातका निम्ति दिएको अनुमति भने ९४० मेगावाटको मात्रै छ।

प्राधिकरणको पछिल्लो त्रैमासिक प्रतिवेदनअनुसार अहिले नेपालमा कुल ३,५१२ मेगावाट विद्युत् उत्पादन भएको छ। थप ८, ४६७ मेगावाट जडित क्षमताका २८० विद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।
२३ अर्ब रुपैयाँको बिजुली बेच्ने लक्ष्य

नेपालले यो आर्थिक वर्ष २० अर्ब रुपैयाँको बिजुली बिक्री गर्ने लक्ष्य लिएको भए पनि गत असोजको बाढीका कारण नेपालकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित कैयौँ आयोजनामा क्षति पुगेपछि उक्त लक्ष्य पूरा नहुने देखिएको अधिकारीहरूले बताएका छन्।

प्राधिकरणका प्रवक्ता ढकाल यो वर्ष करिब १८ देखि १९ अर्ब रुपैयाँको विद्युत् बिक्री हुने सम्भावना रहेको बताउँछन्।

‘अर्को वर्षबाट हामी २३ अर्ब रुपैयाँसम्म बिक्री गर्न सक्छौँ जस्तो लाग्छ,’ ढकाल भन्छन्।

दुई वर्षअघि नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसमा आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने प्रतिबद्धता जनाएको छ

Scroll to Top