जनता लोडसेडिङ् झेल्दै, सरकार भारत र बंगलादेशमा बिजुली बेच्दै

देशका प्रायः भागमा यतिबेला दैनिक लोडसेडिङ्को अघोषित तालिका झेल्न आम जनताहरु बाध्य भएका छन् । पोखराकै उदाहरण दिँदा यहाँ दैनिक छ घण्टा बिजुलीविहीनको अवस्था रहेको छ ।

किन लोडसेडिङ् भइरहेको छ ? बिजुली कतिखेर आउँछ ? भन्ने प्रश्नको ठोस जवाफ दिन विद्युत प्राधिकरणले नसकिरहेकोबेला सरकारले भने छिमेकी देश भारत र बंगलादेशमा बिजुली बेच्न सफल भएको बताएका छन् ।

प्राधिकरणले जनाए अनुसार उल्लेखित दुई देशमा बिजुली बेचेर सरकारले गत आर्थिक वर्षमा मात्रै २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपालले विद्युत उत्पादन, प्रसारण, वितरण र निर्यातमा उल्लेख्य उपलब्धि हासिल गरेको बताएका छन् ।

प्राधिकरणको ४१ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले हाल विद्युत प्रसारण ग्रिड करिब ९८ प्रतिशत जनसंख्यामा पुगेको बताए । प्रतिव्यक्ति विद्युत खपतसमेत अघिल्लो वर्षको तुलनामा बढेको उनले जानकारी दिए।

उनले विद्युत प्रणालीको विस्तारसँगै सेवा गुणस्तर, विश्वसनीयता र आन्तरिक खपत बढाउन थप सुधार आवश्यक रहेको बताए । उनकाअनुसार प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा नेपालमा विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ ।

त्यस्तै, निजी क्षेत्रसँग १२ हजार १३५ मेगावाट क्षमताको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको उनले जानकारी दिए ।

उत्पादन बढ्दै जाँदा विद्युत खेर जान नदिन आन्तरिक खपत वृद्धि र अन्तरदेशीय विद्युत व्यापारलाई समेत प्राथमिकता दिएको उनले बताए ।

‘भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दै प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेक छौं’ श्रेष्ठले सगर्व सुनाए ।
उनले भने, ‘लोडसेडिङका ती अस्तव्यस्त दिनहरू इतिहास भई आजको दिनमा विद्युत प्रसारण ग्रिड करिब ९८ प्रतिशत जनतामा पुगेको छ भने प्रति व्यक्ति विद्युत खपत समेत गत वर्षभन्दा बढेको छ ।

Scroll to Top