पोखरा महानगरका १२ वडाध्यक्ष, जसले लिए दोहोरो सुविधा

santan ads

पोखरा महानगरपालिकाका १२ वडाध्यक्षले यातायात सुविधाका नाममा रकम लिएको खुलेको छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनमा १२ वडाध्यक्षले दोहोरो सुविधा लिएको जनाइएको छ ।

प्रतिवेदेनमा उक्त सुविधालाई अनियमितता र गैरकानुनी कार्य भएको उल्लेख गरिएको छ । महालेखाको प्रतिवेदनमा वडाध्यक्षहरूले यातायात सुविधाको नाममा मासिक रकम लिँदै आएका हुन् ।

गण्डकी प्रदेश सदस्यले पाउने सुविधासम्बन्धी ऐन, २०७६ को दफा ४ को उपदफा ३ मा कुनै वडा अध्यक्षले यातायात सुविधावापत सवारीसाधन वा इन्धन सुविधा पाएको भए यातायात सुविधावापतको रकम नपाउने व्यवस्था छ ।

तर, महानगरपालिकाका १२ वडाध्यक्षले भने सवारीसाधनको सुविधा पाएको अवस्थामा पनि यातायात सुविधावापत मासिक एक हजार ५०० रुपैयाँ लिएको खुलेको हो ।

उनीहरूले वार्षिक १८ हजार रुपैयाँका दरले लिएको एक लाख ८७ हजार ५०० रुपैयाँ असुल गर्न महालेखाले भनेको छ ।

सुविधा लिनेमा वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बराल, ९ का दिपेन्द्र मर्सानी, १० का राजेश गुरुङ, १४ का बोधबहादुर कार्की, १७ की राधिकाकुमारी शाही, २० का गंगाबहादुर खत्री, २१ का दिपकप्रसाद सुवेदी, २३ का रामकाजी गुरुङ, २४ का भरतबहादुर अधिकारी, ३२ का अक्कलबहादुर कार्की र ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारी छन् ।

Scroll to Top