राष्ट्रिय जेष्ठ नागरिक महासंघले सामाजिक सुरक्षा भत्ता बढाएर मासिक १० हजार पुर्याइनुपर्ने बताएको छ ।
सरकारले दिइरहेको मासिक ४ हजार सामाजिक सुरक्षा भत्ताले जीवन निर्वाह गर्न नपुग्ने महासंघको भनाइ छ । आज पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले सामाजिक सुरक्षा भत्ता अतिनै कम भएको बताए ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा जेष्ठ नागरिकको उमेर ६८ बाट बढाएर ७० बनाएको भन्दै उनले आपत्ति जनाए ।
‘यो कम भयो, यसलाई बढाएर मासिक १० हजार पुऱ्याउनुपर्छ भन्ने हाम्रो माग हो । तर यसपटक सरकारले प्रस्तावित बजेटमा ज्येष्ठ भत्ता दिने उमेरलाई बढाएर ६८ बाट ७० वर्षमाथि बनाएको छ । यसमा हाम्रो विरोध छ । ज्येष्ठ नागरिक ऐन २०६३ मा ६० वर्ष उमेरमाथिको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरिएको छ । तर ज्येष्ठ भत्ता भने ७० माथिको लाई मात्र दिने व्यवस्था सरासर विभेदपूर्ण छ,’– उनले भने ।
ज्येष्ठ नागरिकलाई ६० वर्ष पूरा भएपछि सबैलाई समान रुपमा सामाजिक सुरक्षा भत्ता दिइनुपर्ने उनले बताए ।
‘सामाजिक सुरक्षा भत्ता भनेर राज्यले बाँडेको छ । रकम त ठूलै छ । तर, पाउनुपर्ने मान्छेले पाएकी पाएनन् रु नपाउनुपर्ने मान्छेले पाए कि रु त्यसले जीवन निर्वाह भयो कि भएन रु यो कुरालाई राम्रोसँग आत्मसात गर्न सकिएको छैन । जेष्ठ नागरिक ऐन २०६३, (संशोधन २०७९) नियमावली पनि छ । तर, पनि यो खासै कार्यान्वयन भएन,’– अध्यक्ष श्रेष्ठले भने ।
साथै, ज्येष्ठ नागरिक ऐन २०६३ र नियमावली २०६५ बनेर पनि कार्यान्वयन हुन नसकेको उनीहरुको गुनासो रहेको छ । राष्ट्रिय जेष्ठ नागरिक महासंघकी उपाध्यक्ष शारदा चन्दले नेपालमा ३० लाख जेष्ठ नागरिकहरु ओझेलमा परेको बताईन् । सरकारले जेष्ठ नागरिकको सवालमा गम्भीर हुन नसकेको उनको आरोप छ ।
जेष्ठ नागरिकको स्वास्थ्योपचारमा शतप्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वडा कर्यालयमार्फत् या घरदैलोमै पुगेर दिन व्यवस्था गरिनु पर्ने, ज्येष्ठ नागरिकको क्षेत्रमा खास र विशेष जिम्मेवारी दिइनुपर्नेलगायतका उनीहरुको माग रहेको छ ।

