ज्येष्ठ नागरिक सञ्जाल नेपालले आज गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङलाई ज्येष्ठ नागरिकका हकहितलाई लक्षित गरी आज ध्यानाकर्षणपत्र बुझाएको छ ।
ज्येष्ठ नागरिक सञ्जाल, नेपालका अध्यक्ष कुसुम केशव पराजुलीले उक्त ज्ञापन पत्र सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री गुरुङलाई हस्तान्तरण गरे ।
ज्ञापनपत्रमा बिभिन्न कारणले १५ बर्षदेखि हालसम्म नागरिकताविहिन जीवन बिताउन बाध्य भएका, असहाय, बेवारिसे, अशक्त र अपाङ्गता भएका ज्येष्ठ नागरिकहरुको नागरिकता, राष्ट्रिय परिचय पत्र र सामाजिक सुरक्षा भत्ताको ब्यवस्था तत्काल गर्न माग गरिएको छ ।
प्रदेश/जिल्ला भित्रका ज्येष्ठ नागरिकहरु लाई पालिका/वडास्तरीय तालिम प्राप्त प्राबिधिक, थेरापी, मनोपरामर्श सेवा एकीकृत जेरियाट्रीक स्वास्थ्य केन्द्रबाट संचालन गर्ने प्रबन्ध थालनी गराउनुपर्ने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रहरुमा स्वयमसेवी ब्यक्तिको लागि संख्याको आधारमा कम्तीमा बर्षको एक पटक पालिका/जिल्ला वा प्रदेशस्तरीय तिर्थाटन लैजाने स्थानीय सरकार वा निजी क्षेत्रका ज्येष्ठ नागरिक स्याहारगृह लाई अनिवार्य ब्यवस्था गर्न लगाउनुपर्ने मागपत्रमा भनिएको छ ।
विशेषतः जीवनको उत्तरार्धमा देखा पर्ने बिस्मृति रोग (अल्जाईमर, डिमेन्सीया) को पहिचान गरी त्यस लाई न्युनिकरण गर्न, जनचेतना जगाउने कार्य गर्ने, उपचारका लागि सम्भव भएसम्म प्रदेशस्तरीय बिज्ञहरुको परामर्श सेवा थालेर हरेक जिल्लामा कम्तीमा एउटा अल्जाईमर स्क्रिनिङ्ग टेष्ट कार्यक्रमका लागि घुम्ती टोली खटाउन सञ्जालले माग गरेको छ ।
घरपरिवार छोराछोरी नभएका, नगद, सम्पत्ती नभएका असहाय, अशक्त, अपाङ्गता भएका स्वयमसेवी संस्थाले हेरचाह, स्याहारसुसार एवम उपचार गराउँदै आएका ब्यक्तिहरुको जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै सञ्जालले निजहरुको जीविकोपार्जन र औषधि उपचारको लागि बजेट बिनियोजन गर्न माग गरेको छ ।
ज्येष्ठ नागरिकका नाममा खुलेका अबैध संचालन हुँदै आएका संघसंस्था वा महसंघमा भए गरेका अनियमितता, भ्रष्टाचार र ठगी उपर नियन्त्रण गर्नुुपर्ने बताउँदै सञ्जालले भ्रष्टाचार भएमा सरकारी वा न्याय निरुपण निकायले गलत क्रियाकलाप ठहराएमा सम्बन्धीत ब्यक्तिलाई कानुनी दायरामा ल्याएर दण्डित गर्नुपर्ने भनेको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले उठाइएका मागका सम्बन्धमा आँफू सकारात्मक भएको बताउँदै यसको कार्यान्वयनका लागि सक्दो प्रयास गर्ने बताएकी छिन् ।
कार्यक्रममा गण्डकी ज्येष्ठ नागरिक संघका उपाध्यक्ष धर्मबहादुर गुरुङ्ग, अधिवक्ता गीता लामिछाने, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष टोपराज ढुङ्गाना, ज्येष्ठ नागरिक संघका सचिव भीमप्रसाद चुवाई, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका बिश्वनाथ पराजुली, लोकनाथ ढकाल र कल्पना पराजुली लगायतको उपस्थिति थियो ।







