पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१२ ले ६ दिने बोल्ने कला (उद्घोषण) को तालिम दिएको छ । तालिममा ५५ भन्दा बढी महिलाहरूले सक्रिय सहभागिता थियो ।
बुधबार तालिमको समापन गर्दै वडा अध्यक्ष सन्तोष बास्तोलाले महिलाहरूको व्यक्तित्व तथा नेतृत्व विकास गर्दै सार्वजनिक रूपमा बोल्न सक्ने र कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए । उनले आगामी दिनमा महिलालाई अझ सक्षम र सबल बनाउने लक्ष्यका साथ यस्ता तालिमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रम संयोजक एवं वडा सदस्य शान्ति कोइरालाले तालिमले सहभागीहरूमा आत्मविश्वास र उद्घोषण क्षमतामा उल्लेखनीय सुधार आएको बताइन ।
वडा सदस्य शान्त बहादुर थापा र वडा सचिव शारदा सापकोटाले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै महिला सशक्तिकरणमा यस्ता तालिमहरूको योगदान उच्च रहेको उल्लेख गरे ।
प्रशिक्षक अनुराग अधिकारीले उद्घोषण तालिमको प्रभावकारिता र यसको निरन्तर अभ्यासको आवश्यकतामा जोड दिए ।
सहभागीहरू अनिता पोखरेल, खिम कुमारी गुरुङ, रसोदा बाराल लगायतले तालिम अत्यन्तै उपयोगी भएको भन्दै सिकाइलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । साथै, उनीहरूले आगामी दिनमा पनि महिलामुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिदिन जनप्रतिनिधिहरूसँग आग्रह गरेका छन ।