दिपक के श्रेष्ठः राष्ट्रिय यातातायात व्यवसायी महासंघ नेपाल, गण्डकीको पूर्वघोषित कार्यक्रम अनुसार आज प्रदेशमा सार्वजनिक यातायात चलेका छैनन् ।
यातायात व्यवसायीहरूले जेठ १६ गते गण्डकी प्रदेश तथा जेठ १९ गतेदेखि देशभरि सबै किसिमका सार्वजनिक यातायातका साधनहरू ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
सोही अनुरुप आज पोखराबाट चल्ने लामो तथा छोटो दूरीका कुनैपनि सार्वजनिक यातायात नचल्दा यात्रु र सर्वसाधारणहरुले सास्ती व्यहोर्नु परेको छ ।
पोखराभित्र नगर बस, माइक्रो र ट्याक्सीलगायत सवारीसाधन चलेका छैनन् भने पोखरा बसपार्कबाट छुट्ने कुनैपनि गाडी चलेका छैनन् ।
सार्वजनिक बस स्टप सुनसान हुनुको परिणाम पोखराको पुरै जनजीवन प्रभावित भएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा चलिरहेकाले विद्यार्थीहरु पठाओ र इनड्राइभको सहारामा परीक्षा केन्द्र पुगेका छन् ।
नेपाल सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष भरत नेपालका अनुसार जेठ १९ गतेदेखि बस, मिनिबस, माइक्रोबस, टेम्पोमात्र नभइ कालो नम्बर प्लेट भएका सबै प्रकारका यातायात साधनहरू जस्तै टयाक्सी, टयांकर, मिनि ट्रक, टयाक्टर, पेट्रोलिय ढुवानी गर्ने साधनहरू समेत बन्द हुने छन्।
व्यवसायीहरुले सर्वोच्च अदालतबाट संघसंस्था दर्ता ऐन २०३४ मा रहेका संघ समिति नवीकरण सम्पत्ति फुकुवाको मिति २०८०/१२/२० गतेको परमादेश तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।
सवारी ऐन २०४९ संशोधनको काममा रहेको अवस्थामा सरकारसँग यातायात व्यवसायी महासंघ र मजदुर संघसंगठनसँग विभिन्न मितिमा भएको सम्झौता सहमति र
सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न यातायात व्यवसायीहरूले सरकारसँग माग राखेका छन्।
त्यस्तै, सिंगो यातायात क्षेत्रमाथि नै प्रभाव पार्ने ‘राइड सेयरिङ’ नियमावली ल्याइएको विरोधप्रति पनि व्यवसायीको आन्दोलन लक्षित रहेको छ ।