नयाँलिपिः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गौतम बुद्धको २५६९ औं जन्मजयन्ती र किराँत धर्मावलम्बीको उभौली पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पाण्डेको शुभकामनाः
‘शान्ति र अहिंसाको सन्देश विश्वभर फैलाउन सफल गौतम बुद्धको २५६९ औं जन्मजयन्ती र किराँत धर्मावलम्बीको उभौली पर्वका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, विश्व वन्धुत्वका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण समेत एकै दिन परेको पावन बुद्ध जयन्तीमा बुद्धले दिनुभएको करुणा, अहिंसा, समता र शान्तिको मार्ग आजको सन्दर्भमा उत्किै सान्दर्भिक भएको छ । उहाँका शिक्षाले हामीलाई आत्मपरीक्षण, अनुशासन र मानव सेवाको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ ।
बुद्ध दर्शनलाई जीवनमा आत्मसात गर्नुका साथै उहाँद्वारा स्थापित ४ आर्य सत्यलाई अवलम्बन गर्न मात्र सके पनि मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्किनेछ । विभिन्न जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधता बिच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन गौतम बुद्धका उपदेश तथा मार्गदर्शन अहिले पनि हाम्रा लागि मार्गदर्शक सावित भएका छन् ।
यसै दिन अर्थात् वैशाख शुक्ल पूर्णिमामा किराँत धर्मावलम्बीहरुको पवित्र उभौली पर्व मनाउने परम्परा पनि रहेको छ । उभौली पर्व, जसले प्रकृति प्रतिको आस्था र जीवनशैलीसँगको सम्बन्ध झल्काउँछ र चण्डी पूर्णिमा, जसले शक्ति, श्रद्धा र आस्थाको प्रतीकका रूपमा मनाइन्छ ।
बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा यस्ता पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सशक्त बनाउने विश्वास मैले लिएको छु ।
अन्त्यमा, विश्वकै पवित्रस्थल लुम्बिनीमा जन्मनु भएका बुद्धका सन्देशलाई विश्वभर फैलाउनुका साथै उहाँको जन्मस्थललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापना गर्न हामी सबै लाग्नुपर्नेछ । गौतम बुद्धको अहिंसा, करुणा र शान्तिको सन्देशले हामी सबैलाई प्रेरणा दिँदै, समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना प्रगाढ बनाओस् भन्ने कामना गर्दछु ।
बुद्ध जयन्ती एवं उभौली पर्वले सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।’