नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन् ।
काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकतावद्ध गर्ने अभियानलाई अझै तिव्र बनाउने बताएका हुन् । विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ ।
एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने उल्लेख गर्दै दाहालले कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताए ।
उनले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको जानकारी दिँदै अन्य कम्युनिष्ट समूहसँग पनि निरन्तर छलफल भइरहेको बताए । विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै सहकार्य तथा कार्यगत एकतालाई विस्तार गर्नसके मात्रै देशमा देखिएका समस्याको समाधान गर्न सकिने उनको भनाइ छ ।
संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए । शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनले जानकारी दिए । देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने उनले विश्वास व्यक्त गरे ।
दाहालले अन्तर्राष्ट्रिय शक्तिसँगको संवाद र सम्बन्ध विस्तारमा विगतमा आफूहरूबाट कमजोरी भएको महसुस गर्दै अन्तर्राष्ट्रिय भूमिकालाई निरन्तर अघि बढाइरहेको पनि बताए ।
दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संरचना र मान्यताहरू विघटन हुँदै गएको उल्लेख गर्दै उनले विश्वमा नयाँ मान्यता र संरचना निर्माणका लागि ध्रुवीकरणको लहर चलिरहेको बताए । अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै नेपालले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।







