गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह गर्ने पुष्टि गरेका छन् ।
सुनसरीको इटहरीमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका हुन् ।
पदीय हैसियतका कारण पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था रहे पनि आफू र हुनेवाला श्रीमती दुवैको चाहनाअनुसार सामान्य नागरिकको जस्तै सादगीपूर्ण विवाह गर्न लागेको उनले स्पष्ट पारे ।
आधुनिकताको नाममा आफ्नो मौलिकता बिर्सेर महँगो र भड्किलो विवाह गर्ने प्रवृत्तिको विरोध गर्दै गृहमन्त्री गुरुङले ऋण काढेर तामझाम गर्नु गलत भएको बताए ।
विवाह केवल श्रीमान्–श्रीमती र परिवारको खुसीका लागि हुनुपर्ने उनको धारणा छ। यसै कारण उनले विवाहमा अत्यन्तै सीमित व्यक्तिहरूलाई मात्र निमन्त्रणा गर्ने जानकारी दिए । सो समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा सरकारका केही प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
पुर्खाको इतिहास, जातीय पहिचान र मौलिक भेषभूषा जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले विवाहका लागि गोरखा रोजेको उनको भनाइ छ ।
साथै, आफ्नो यो कदमले स्थानीय होमस्टे, कला–संस्कृति र हिमाली पर्यटनको प्रवर्द्धन भई गोरखाको उक्त क्षेत्र भविष्यमा एक आकर्षक ‘वेडिङ डेस्टिनेसन’ का रूपमा विकास हुने विश्वास पनि उनले व्यक्त गरे ।







