किङ्स क्लब भलिबलमा गण्डकीको लगातार दोस्रो जित

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’मा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा गण्डकीले एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

गण्डकीले पहिलो र दोस्रो सेटमा २५–१५, २५–२१ जितेपनि तेस्रो सेट २५–२३ ले एपिएफलाई सुम्पिएको थियो । चाथौं सेट २५–१६ ले जित्दै ३ अंकं जोडेको हो ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल एपिएफ र कोशी प्रदेश बिच हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

दोस्रो खेलमा नेपाल पुलिससँग त्रिभुवन आर्मी, तेस्रो खेलमा गण्डकी प्रदेशसँग आयोजक किङ्स पोखराले खेल्ने उनले बताए ।

राउण्ड रोबिन फर्म्याटमा जारी प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

प्रतियोगिताका सबै खेल पब्लिक फोरके टेलिभिजन र टेलिभिजनका प्रत्यक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

Exit mobile version