जयशंकरको पाइन्टमा अड्किएको नेपाली ‘अजासु’को बुद्धिविलास

प्रधानमन्त्री बालेन्द्र शाह आइतबारदेखि छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

नेपालको सिमाना जोडिएको र सांस्कृतिक सम्बन्धसमेत भएको भारतको भ्रमणलाई विभिन्न दृष्टिकोणबाट हेर्ने गरिएको छ । दक्षिण एसियाको शक्तिराष्ट्र भारतसँग नेपालको सम्बन्ध क्षणभरमै तातिने र चिसने गरेको इतिहास साक्षी छ ।

भारतको ‘बडेभाई’ शैलीले दक्षिणका सबै देश असन्तुष्ट छन् । अझ, कुनैपनि देशको राजनीतिमा जबर्जस्ती प्रवेश गर्ने भारतको रवैया मनासिब मान्न सकिँदैन ।

यसैबीच शाहको भ्रमणबाट नेपालले आर्थिक, भौगोलिक सहकार्यमा केही विशेष हुन्छ वा हुनुपर्छ भन्नेमा विश्वस्त नेपाली समाज यसको विपरित भारतीय विदेशमन्त्री एस जयशंकरको पाइन्टको फेदमा गएर अड्किएको छ ।

उता प्रधानमन्त्री शाह र उनै जयशंकरको भेटमा पाइन्ट सुर्किएर बसेको भन्दै नेपाललाई होच्याएको धारणा राख्दै यताका बुद्धिजीविहरु बुद्धिविलास गरिरहेका छन् । ‘के निहूँ पाऊ, कनिका बुँक्याऊ’ शैलीमा गरिएको विरोध र असहमतिले उनीहरुको बौद्धिक धरातलको मापन सहजै गर्न सकिन्छ ।

भ्रमण फलदायी होला वा नहोला ?, नेपालले कुटनीतिमार्फत कसरी भारतसँग सम्बन्ध थप सुधार्दै आर्थिक राजमार्गकारुपमा अघि बढाउने सम्झौता गर्ला ?, राष्ट्रियताका सवालमा नेपाल कत्तिको बलियो देखिएला ? भन्दा पनि सस्तो र तुच्छ टिप्पणीमा नेपालका बौद्धिक वर्ग लुतो कन्याइरहेका छन् ।

विदेशमन्त्री जयशंकरले नेदरल्याण्डका विदेशमन्त्रीसँग भेट्दा त्यही पाइन्ट लगाएका छन् जुन बालेनसँगको भेटमा लगाएका थिए । व्यस्त समयतालिकाबीच जयशंकर एउटै पोशाकमा दुई भीभीआइपीसँग देखिएका छन् । नेदरल्याण्डले कस्तो प्रतिक्रिया जनाए थाहा भएन । तर, यता भने उधुमै भइरहेको छ ।

जयशंकरले फोल्ड गरेको पाइन्टलाई ‘टेलर्ड कफ्ड’ भन्ने गरिन्छ । यस्तो डिजाइन ९० को दशकतिर नेपालमा पनि चलेकै हो । हाल उमेरमा ४० कटेका शहरीयाले यस्तो पाइन्ट पक्कै लगाएको हुनुपर्छ ।

यो फेशन केही पुरानो पक्कै हो तर ‘आउटडेटेड’ भने होइन । भारत र पश्चिमा देशहरुमा यस्ता डिजाइनका पाइन्ट औपचारिक पोशाककारुपमा लगाइएको देख्न सकिन्छ ।

पोशाक र डिजाइनको थोरैमात्र पनि चेत नभएकाहरुलाई बुद्धिजीवि हैन केवल अजासु (अति जान्ने, सुन्ने)को कोटरीमामात्र राख्न सकिन्छ । बरु, प्रधानमन्त्री शाहले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा ‘कालै’ लगाउलान् वा औपचारिक नेपाली पोशाकमा ठाँटिएलान् ? यो भने प्रश्न र चासोको विषय हुनसक्छ ।

Scroll to Top