मुस्ताङ। नेपाल(चीन सीमास्थित कोरला नाकाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएका छन्।
कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (इभी)गाडी मात्र उक्त नाकाबाट नेपाल भित्र्याइएका थिए । भन्सार कार्यालयका अनुसार, त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको यो पहिलो घटना हो।
गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएकाले विद्युतीय सवारीसाधनसहितका मालसामान यस नाकाबाट आयात हुने क्रममा वृद्धि भएको हुन सक्ने भन्सार कार्यालयका अधिकृत अमिन्द्र सिंहले जानकारी दिए।
उनले बताएअनुसार, चालु वर्षको साउन महिनामा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिक महिनामा थप पाँच हजार ६४७ को सङ्ख्यामा ती विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्।
यसैबीच, नेपाल भित्रिएका ती सवारीसाधनलाई गन्तव्यसम्म पुर्याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव हुँदा विभिन्न किसिमका चुनौतीहरू खेप्न परेको भन्सार प्रमुखको भनाइ रहेको छ।
सोही समस्याका कारण मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै पनि बाटोमै ९सडकमै० रहेको पाइएको छ।
चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु १२ अर्ब ५५ करोड १४ लाख राजस्व संकलन गरेको छ। जब कि उक्त कार्यालयको वार्षिक राजस्व सङ्कलनको लक्ष्य भने कुल रु नौ अर्ब मात्र रहेको थियो।
पहिलो चार महिनाको अवधिमै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी राजस्व संकलन भएको भन्सार अधिकृत सिंहले जानकारी गराए।
कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा ३० अर्ब नौ करोड नौ लाख मूल्य बराबरका मालवस्तुहरू चीनबाट पैठारी (आयात) भएका छन्। त्यस नाकाबाट खासगरी विद्युतीय सवारीसाधन, लत्ताकपडा, कस्मेटिक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामग्री, फलफूल र खाद्यान्नलगायतका सामानहरू आयात हुने गरेका छन्।
त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा सोही नाका भएर नेपालबाट रु २९ करोड ५२ लाखभन्दा बढीका मालवस्तु चीनतर्फ निकासी भएका छन्। नेपालबाट मुख्य रूपमा हस्तकलाका सामान र विभिन्न नेपाली उत्पादनहरू चीनतर्फ निकासी हुने गरेको भन्सार अधिकृत सिंहले बताए।
