मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २७० सवारीसाधनलाई कारबाही गर्दा रु १२ लाख ९६ हजार ५०० राजस्व सङ्कलन भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार साउनदेखि कात्तिकसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका सवारी साधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो ।
कार्यालयका अनुसार साउनमा २९५ सवारीसाधनलाई कारबाही गर्दा रु तीन लाख सात हजार ५००, भदौमा ४७५ सवारी साधनलाई कारबाही गर्दा रु चार लाख ९० हजार, असोजमा १६२ सवारीसाधनलाई कारबाही गर्दा रु एक लाख ६४ हजार ५०० र कात्तिकमा ३३८ सवारीसाधनलाई कारबाही गर्दा रु तीन लाख ३४ हजार ५०० राजस्व सङ्कलन भएको छ ।
भदौमा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । असोजमा बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकखण्ड दुई सातासम्म अवरुद्ध हुँदा सवारी साधनको आवागमन घटेकाले कारबाही र राजस्व सङ्कलन पनि कम भएको प्रहरी निरीक्षक महतले बताए ।
मुस्ताङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनाका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८६४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
ती कार्यक्रममा उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्याबाट बच्ने उपाय, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा मादक र लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्धको सचेतना समेटिएका छन् ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङमा १० जनाको दरबन्दी रहेकामा हाल नौ जना कार्यरत छन् । तीमध्ये दुई जना म्याग्दी र मुस्ताङको सिमाना घाँसा प्रहरी चेकपोस्टमा खटिएका छन् भने सात जना सदरमुकाम जोमसोममा ट्राफिक व्यवस्थापनमा परिचालित छन् ।
पर्यटकीय याममा कागबेनी र मुक्तिनाथ क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक महतले बताए । रासस
