पोखराको बाल आश्रममा आगलागी, करोड बढी क्षतिको आंकलन

पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ आगलागी भएको छ । आगलागीबाट १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीमा परी बालआश्रमको भवन र त्यहाँ रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण संकलन गर्ने तथा बालआश्रमको पुनःस्थापनाका लागि आवश्यक पहल भइरहेको जनाइएको छ ।

आगलागीबाट क्षतिग्रस्त बालआश्रमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले आगलागीबाट पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे ।

‘विपद्को यस घडीमा महानगरपालिका बालआश्रमको साथमा छ,’ नगर प्रमुख आचार्यले भने, ‘बालआश्रमको पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका लागि महानगरपालिकाबाट गर्न सकिने सबै सहयोग उपलब्ध गराउने छौँ ।’

स्थलगत अवलोकनमा सहभागी प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले पनि घटनाप्रति दुःख व्यक्त गरे । उनले बालआश्रमको अवस्था सामान्य बनाउन आवश्यक सहयोग र समन्वय गरिने बताए ।

अवलोकन टोलीमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र पुष्पेन्द्र पाण्डेलगायत वडाका जनप्रतिनिधिहरू पनि सहभागी थिए । उनीहरूले आगलागीबाट भएको क्षतिको अवस्थाबारे स्थलगत जानकारी लिएका छन् ।

Scroll to Top