बाहिर खरायोको खाना, भित्र २२ करोडको हेरोइन ! तेस्रो पटकमा समातिए तिघारे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलोग्राम सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेले यसअघि पनि नेपाललाई ट्रान्जिट बनाउँदै दुई पटक लागुऔषध सफलतापूर्वक भारत पुर्‍याएको खुल्न आएको छ।

लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थलस्थित शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गत कात्तिक २८ गते पक्राउ गरेको थियो।

प्रहरीका अनुसार थाइल्यान्डबाट नेपाल आएका शंकास्पद यात्रुहरूको प्रोफाइलिङ तथा कडा जाँच गर्ने क्रममा उनको लगेजभित्र खरायो र बिरालोको खाना (पेट फुड)का प्याकेटहरूमा निकै चलाखीपूर्वक लुकाएर राखिएको अवस्थामा साढे ५ किलो सेतो हेरोइन बरामद गरिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार तिघारे यसअघि नै सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएका थिए। उनले पहिलो पटक हवाई मार्ग र दोस्रो पटक स्थलमार्ग हुँदै लागुऔषध भारतसम्म पुर्‍याएको अनुसन्धानबाट स्पष्ट भएको छ।

‘पक्राउ परेका व्यक्ति अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति हुन्। यसअघि पनि उनले दुई पटक यसरी नै लागुऔषध भारत पुर्‍याएको देखिन्छ,’ डीएसपी निरौलाले बताएका छन्।

यसपटक उनी लाओसबाट बैंकक हुँदै नेपाल आइपुगेका थिए। विस्तृत अनुसन्धानका क्रममा उनले लाओसबाहेक जिम्बाब्वे, सुडान, बङ्गलादेश, भियतनाम र कम्बोडियाजस्ता देशहरूको समेत भ्रमण गरेको पाइएको ब्युरोले जनाएको छ।

प्रहरीले पक्राउ परेका तिघारेको साथबाट साढे ५ किलो सेतो हेरोइनसँगै एक थान राहदानी (पासपोर्ट), एक थान मोबाइल फोन र एक थान मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद गरेको छ।

बरामद गरिएको उक्त हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ। भारत पुगेपछि यसको कालोबजारी मूल्य अझ धेरै हुने प्रहरीको अनुमान छ।

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका तिघारेमाथि लागुऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान जारी छ।

नेपालको लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार सेतो हेरोइनको कारोबारमा दोषी ठहरिएमा १५ वर्षदेखि जन्मकैदसम्मको कठोर सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ।

Exit mobile version