पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट–आरूघाट–लार्के सडक तत्काल निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
१८ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको १५४ किलोमिटर लामो रणनीतिक महत्त्वको सडक अझै पूरा नहुनु र क्षेत्रफलका हिसाबले देशकै चौथो ठूलो तथा गण्डकी प्रदेशको सबैभन्दा ठूलो स्थानीय तह सडक सञ्जालमा जोडिन नसक्नु विडम्बनापूर्ण भएको उनले बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले आफू अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०६५/६६ को बजेट वक्तव्यमार्फत उक्त सडकलाई रातो किताबमा समावेश गरेर निर्माण प्रक्रिया अघि बढाएको स्मरण गरेका छन् ।
उनले पछिल्लो बुढीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढीपछि निर्माण भइसकेको सडकखण्डसमेत नष्ट हुँदा उत्तरी गोरखाको उक्त क्षेत्र देशका अन्य भागबाट झनै विच्छेद भएको बताएका छन् ।
मनाङ र मुस्ताङजत्तिकै ठूलो हिमाली क्षेत्रका बासिन्दाले सडक नहुँदा लामो समयदेखि सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले सडक निर्माणलाई युद्धस्तरमा अघि बढाउन माग गरेका छन् ।
भट्टराईले भौगोलिक, जातीय, भाषिक र सांस्कृतिक रूपमा गोरखाको अन्य क्षेत्रभन्दा विशिष्ट पहिचान बोकेको उत्तरी भूभागलाई नेपालको संविधानको धारा ५६(५) अनुसार संघीय कानुन बनाएर स्वायत्त क्षेत्र कायम गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन् ।
मनास्लु संरक्षण क्षेत्र रहेको चुमनुब्री क्षेत्रको विशिष्ट पहिचान र आवश्यकतालाई ध्यानमा राख्दै सडक निर्माण तथा स्वायत्त क्षेत्र घोषणालाई प्राथमिकतामा राख्न उनले युवाजोशयुक्त वर्तमान सरकारको ध्यानाकर्षण गराएका छन् ।







