लेकसाइडमा रातभर ‘सभ्यता’: २१ समातिए, २७ गाडी नियन्त्रणमा

कास्की प्रहरीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा ‘अपरेसन सभ्यता’ सञ्चालन गरी २१ जनालाई नियन्त्रणमा लिनुका साथै २७ वटा सवारी साधनमाथि कारबाही गरेको छ।

लेकसाइड क्षेत्रमा पछिल्लो समय झै-झगडा, आपसी विवाद, पर्यटकलाई अनावश्यक दुःख-हैरानी तथा दुर्व्यवहार र अनैतिक क्रियाकलाप बढेको जनगुनासो आएपछि प्रहरीले उक्त विशेष अभियान चलाएको हो।

आउँदै गरेको तिहार तथा छठ पर्वलाई सभ्य र सुरक्षित बनाउन जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट आइतबार रातिदेखि ‘अपरेसन सभ्यता’ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्र कुमार पासवानले बताए।

बुधबार रातिदेखि आज बिहानसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा चलाइएको उक्त अपरेसनका क्रममा २१ जनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेहरूमा झण्डीबुर्जा खेलाउने १० जना, अवाञ्छित गतिविधि गर्ने ६ जना, झै-झगडा गर्ने २ जना तथा चोरी र मादक पदार्थ सेवन (मापसे) लगायतका गतिविधिमा संलग्न ३ जना रहेका छन्। उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर थप अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

यसैगरी, सोही अवधिमा गरिएको सवारी साधन जाँचका क्रममा २७ वटा सवारी साधनलाई कारबाही तथा नियन्त्रणमा लिइएको छ।

जसमा मापसे गरी सवारी चलाउने १५ जना चालक, अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २ जनालाई कारबाही गरिएको र १० वटा सवारी साधनलाई होल्डमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी पासवानले बताए।

एआईको सहयोगमा सांकेतिक तस्बिर तयार पारिएको छ ।

Scroll to Top