पोखरा — पोखरा महानगरपालिका–२६ विजयपुर एकान्त टोलमा अवैध रूपमा प्राकृतिक स्रोतको दोहन गरिरहेको अवस्थामा प्रहरीले एक जेसीबी र एक टिप्पर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कात्तिक १३ गते दिउँसो करिब ४ बजे अवैध रूपमा प्राकृतिक दोहन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जेसीबी र टिप्परलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले ग १ क २७२६ नम्बरको जेसीबी र ग १ क ४६७८ नम्बरको टिप्पर प्रयोग गरी अवैध रूपमा प्राकृतिक दोहन (माटो उत्खनन) भइरहेको अवस्थामा दुवै सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको थियो। महानगरपालिकाले दुवै सवारीसाधनलाई रु. ४५ हजार जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
