२ राउण्ड फायरपछि मध्यरात गाँजा लोड गर्दागर्दै पाँचजना परे पक्राउ

धरान उपमहानगरपालिका–२० च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गर्दा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

आइतबार बिहान करिब ३ बजे भएको प्रहरी कारबाहीका क्रममा दुई राउण्ड हवाई फायरसमेत भएको छ।

इलाका प्रहरी कार्यालय धरानमा प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी हेमराज सुवेदीको कमान्डमा सादा पोसाकमा खटिएको टोलीले च्यानडाँडामा छापा मारेको हो।

प्रहरी टोली घटनास्थल पुग्दा बा.१ च. ५०३८ र को.१ च. ८१८२ नम्बरका दुईवटा स्कार्पियोमा आठ पोका गाँजा लोड भइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा सानो पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरिएको थियो। त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय राम सागर कुमार यादव, राज गढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधु बनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्।

प्रहरीका अनुसार बा.१ च. ५०३८ नम्बरको स्कार्पियो राम सागर कुमार यादव र को.१ च. ८१८२ नम्बरको स्कार्पियो राजकुमार शाहले चलाएका थिए।

प्रहरीले पक्राउ परेका पाँचै जनालाई दुवै स्कार्पियो र गाँजासहित इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। बरामद गाँजाको परिमाण नापतौल गर्ने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय धरानबाट करिब तीन किलोमिटर उत्तरमा रहेको छ।

Exit mobile version