इलाम । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक सडक मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको छ।
९.५ किलोमिटर लामो उक्त सडक खण्ड निर्माणका लागि २०७८ असार २९ गते २७ करोड २२ लाख रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो।
तर पटक–पटक म्याद थप गरी कुल ६३ महिनाको समय उपलब्ध गराउँदासमेत निर्माणले अपेक्षित गति लिन सकेन। हालसम्म आयोजनाको वित्तीय प्रगति ४५.२८ प्रतिशत र भौतिक प्रगति करिब ४७ प्रतिशत मात्रै पुगेपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो।
अधुरो सडक निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का सहमति जुटाएर नयाँ ठेक्का प्रक्रिया शीघ्र अघि बढाइने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए।
उनले वर्षौँदेखि अलपत्र रहेका ठेक्का अब तोडेर नयाँ प्रक्रियामार्फत निर्माणलाई अघि बढाइने बताए।
‘अब अलपत्र ठेक्का तोडिनेछन्, नयाँ प्रक्रियाबाट अघि बढ्नेछन्,’ मन्त्री लम्सालले भने।
