कर्णाली याक्सको धमाका ! पाकिस्तानका कप्तान फरहान अनुबन्धित

पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो ।

‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

फरहानले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजित आईसीसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो छाप छाडेका थिए । उनले प्रतियोगितामा छ खेल खेल्दै दुई शतकसहित ३८३ रन बनाएका थिए ।

उनले प्रतियोगितामा बनाएको ३८३ रन एकै संस्करणको पुरुष टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो । ३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी हुन् ।

उनले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन् ।

समग्र टी–२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन् । उनले व्यावसायिक क्रिकेटमा हालसम्म लङ्का प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र बङ्गलादेश प्रिमियर लिग (बीपीएल) खेलेका छन् ।

फरहानका लागि एनपिएल चौथो विदेशी लिग हुनेछ । कर्णाली याक्सले यसअघि पाकिस्तानका अलराउन्डर हुसेन तलत, बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ ।

एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ देखि किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

Scroll to Top