५० मिलियन डलरको ‘डायमन्ड ब्रा’ लगाएर भिक्टोरियाको र्‍याम्पमा काइली

लस एन्जलस — भिक्टोरियाज सिक्रेटको फेसन शोमा अमेरिकी मोडल तथा व्यवसायी काइली जेनर ५० मिलियन अमेरिकी डलर मूल्य पर्ने हिराजडित ब्रा लगाएर र्‍याम्पमा उत्रिएकी छन्।

आइतबार राति आयोजित फेसन शोमा जेनरले लगाएको उक्त विशेष ब्रा लक्जरी ज्वेलरी कम्पनी ज्याकोब एन्ड कम्पनीले तयार पारेको हो। ब्रामा ५ देखि १८ क्यारेटसम्मका ९१ वटा ठूला सेता हिरा जडान गरिएको छ। ब्राको मध्यभागमा ७५ क्यारेटभन्दा बढीको पहेँलो हिरा राखिएको छ।

‘फ्यान्टेसी ब्रा’ भिक्टोरियाज सिक्रेटको चर्चित परम्परा हो। सन् १९९६ देखि कम्पनीले प्रत्येक वर्षजसो बहुमूल्य रत्न तथा हिराले सजाइएको विशेष ब्रा तयार गर्दै आएको छ। पहिलोपटक क्लाउडिया शिफरले फोटोसुटमा फ्यान्टेसी ब्रा लगाएकी थिइन्। सन् २०१८ मा एल्सा होस्कले र्‍याम्पमा लगाएको फ्यान्टेसी ब्राको मूल्य करिब १० लाख अमेरिकी डलर थियो।

तर यस वर्ष जेनरले लगाएको ब्राको मूल्य अघिल्ला संस्करणभन्दा निकै बढी छ। उक्त ब्रा तयार गर्न १५ जना कारीगरले एक हजार घण्टाभन्दा बढी समय खर्च गरेका थिए।

फेसन शोमा टिमोथी शालामे, क्रिस जेनर, निकोल किडम्यान र डिलन स्प्राउसलगायत सेलिब्रेटी उपस्थित थिए। भिक्टोरियाज सिक्रेटका पुराना ‘एन्जल’ जोन स्मल्स र क्यान्डिस स्वानेपोलसँगै पालोमा एल्सेसर र एलेक्स कन्सानीजस्ता नयाँ मोडलले पनि र्‍याम्पमा प्रस्तुति दिएका थिए।

मोडल बेला हदिदले फूलजस्तै डिजाइन गरिएका पखेटासहित शोको सुरुवात गरेकी थिइन्। यसपटकका पखेटा विगतका शोको तुलनामा हलुका बनाइएको बताइएको छ।

शोमा केटआइज, र्‍यापर मेगन दी स्टालियन र पप गायिका टेट म्याक्रेलगायत कलाकारले प्रत्यक्ष प्रस्तुति दिएका थिए।

यसैबीच, भिक्टोरियाज सिक्रेटको नयाँ सामाजिक सञ्जालकेन्द्रित रियालिटी शो ‘एन्जल्स अमङ अस’ मार्फत सोलान्ज ओमनलाई नयाँ मोडलका रूपमा छनोट गरिएको छ। एडम सेलम्यानको नेतृत्वमा तयार गरिएको उक्त कार्यक्रममार्फत हजारौँ प्रतिस्पर्धीमध्ये एक मोडल छनोट गरिएको हो।

भिक्टोरियाज सिक्रेट पछिल्ला वर्षमा आलोचना र बिक्रीमा आएको गिरावटका कारण चुनौतीमा परेको थियो। कम्पनीको विगतको कार्यसंस्कृति, जेफ्री एपस्टिनसँग जोडिएका विवाद तथा महिला शरीरको एकै प्रकारको सौन्दर्य मापदण्डलाई प्रवर्द्धन गरेको आरोपले पनि ब्रान्ड विवादमा परेको थियो।

सन् २०१९ मा रोकिएको भिक्टोरियाज सिक्रेटको चर्चित रनवे शो सन् २०२४ मा पुनः सुरु गरिएको थियो। त्यसयता कम्पनीले विभिन्न शरीर संरचना र लैंगिक पहिचान भएका मोडललाई समेट्दै आफ्नो पुरानो छविमा परिवर्तन ल्याउने प्रयास गर्दै आएको छ।

कम्पनीले सन् २०२६ मा विविधतालाई ‘देखावटी नभई वास्तविक’ रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको थियो। पछिल्लो समय कम्पनीको सेयर मूल्यमा समेत उल्लेख्य वृद्धि भएको बताइएको छ।

Scroll to Top