पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब भूउपग्रहमा आधारित आधुनिक प्रविधि जडान गरिने भएको छ। प्रतिकूल मौसम र कम दृश्यका कारण हुने उडान अवरोध हटाउन यो कदम चालिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ हवाई मार्गनिर्देशन प्रणाली जडान गर्न प्रारम्भिक प्राविधिक अध्ययन पूरा गरेको छ।
‘आरएनपी एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स – अथोराइजेसन रिक्वायर्ड) नाम दिइएको उक्त प्रविधि सञ्चालनमा आएपछि खराब मौसमका कारण विमान डाइभर्ट हुने र उडान रद्द हुने समस्या घट्ने छ। हाल यस विमानस्थलमा रेडियो संकेतका आधारमा मात्र उडान र अवतरण हुँदै आएको छ।
पोखराको भौगोलिक अवस्थिति र वरपरका पहाडी भूबनोटका कारण प्रतिकूल मौसममा उडान सञ्चालन गर्न निकै चुनौती हुने गरेको छ।
यो प्रणाली कार्यान्वयनमा आएपछि कम दृश्यतामै पनि जहाज सुरक्षित रूपमा अवतरण गर्न सक्ने छन्। यसले पुनः अवतरणको प्रयास गर्नुपर्ने र उडान अन्यत्र मोड्नुपर्ने झन्झट अन्त्य गर्ने छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पोखराको हवाई सेवालाई थप सुरक्षित र विश्वसनीय बनाउन यो तयारी गरिएको बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको छ।
यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध र रद्द हुने समस्या घटाउन सहयोग पुग्ने छ,’ उनले भने।
यो प्रविधि पूर्ण रूपमा लागू गर्न केही प्राविधिक चरण पार गर्नुपर्ने हुन्छ। विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्यांकन र नियामकीय मापदण्ड अनुसार स्वीकृति प्राप्त गरेपछि प्रणाली सञ्चालनमा आउने छ। सम्पूर्ण प्रक्रिया पूरा भएपछि यात्रुले थप नियमित, भरपर्दो र सुरक्षित हवाई सेवा पाउने मन्त्री पौडेलले जनाएका छन्े ।
