शुभकामना सन्देश दिँदै पूर्वराजाले सोधे -‘देश किन अस्तव्यस्त छ ?’

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्र अव्यवस्था र अन्योलको अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विजयादशमी २०८३ को शुभकामना सन्देश जारी गर्दै उनले राज्य प्रणाली, राजनीतिक नेतृत्व र देशको भविष्यबारे प्रश्न उठाएका हुन् ।

‘यतिबेला हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ ? हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यवसायिक क्षेत्र अन्योल र अव्यवस्थाको अवस्थामा किन मौलन्छ ?’ पूर्वराजा शाहले प्रश्न गरेका छन् ।

उनले राज्य प्रणालीलाई कसरी अघि बढाउने, प्रजातान्त्रिक आधारलाई कसरी बलियो बनाउने र अर्थतन्त्रलाई कसरी गतिशील बनाउने भन्ने विषयमा पनि प्रश्न उठाएका छन् ।

देशको वर्तमान परिस्थितिमा विश्व परिवेश र भू–राजनीतिक अवस्थाको समेत विश्लेषण गर्दै राष्ट्रियता तथा मौलिकताका विषयमा गम्भीर हुनुपर्ने उनको सन्देश छ ।

पूर्वराजा शाहले देशमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय एकता, सद्भाव र सहकार्य आवश्यक रहेको बताएका छन् ।

‘नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना बलियो बनाउँदै विभाजित नभई एकताबद्ध भएर सबल र सक्षम नेपाल निर्माण गर्नुपर्नेछ’, उनले भनेका छन् ।

पूर्वराजा शाहले पछिल्लो समय नेपालले भोग्नुपरेका प्राकृतिक विपत्तिहरूको पनि स्मरण गरेका छन् । भोटेकोशीमा आएको बाढीबाट विभिन्न जिल्लाका नदीतटीय क्षेत्रमा भएको क्षति तथा जनधनको नोक्सानीलाई उनले दुःखद् घटनाका रूपमा उल्लेख गरेका छन् ।

प्रकृतिका नियमहरू न्यायसंगत हुने तर मानवीय कमजोरीका कारण विपत्तिको असर भयावह हुन सक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘प्रकृतिलाई नियमित र नियमानुसार चल्ने शक्तिका रूपमा व्याख्या गर्दै उनले त्यसको गतिलाई स्वाभाविक रूपमा स्वीकार गरी प्रकृतिसँग सन्तुलन कायम गर्नुपर्ने हुन्छ ।’

देश कठिन परिस्थितिमा रहेका बेला एकअर्काको घाउमा मलम लगाउँदै सबै क्षेत्रका नागरिकसँग साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति हुने शाहको सन्देश छ ।

उनले राष्ट्रिय स्वाभिमान र मौलिकता जोगाउँदै देशलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । साथै, देशको राजनीतिक र सामाजिक परिस्थितिमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने सन्देश दिएका छन् ।

Scroll to Top