‘अपरेशन ३६५’को निशानामा बुलेट र क्रसफायर, ८ सय ९५ मोटरसाइकल र ३६ चालक समातिए

पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने कार्यविरुद्ध प्रहरीले कडा कारबाही सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका इकाइबाट तीन सय ६५ दिने कार्ययोजना अनुसार यो अभियान चलाइएको हो। समाजलाई आतङ्क पार्ने र शान्ति सुव्यवस्था खल्लल पार्ने गतिविधि बढेको जनगुनासो आएपछि यो कदम चालिएको हो।

कास्की जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरी आगोको झिल्का निकाल्ने र होहल्ला मच्चाउने चालकहरू कारबाहीमा परेका छन्। सडकमा मोटरसाइकल उडाउँदै उच्छृङ्खल गतिविधि गर्ने र शान्ति खल्लल पार्ने चालकलाई नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाइएको छ।

ध्वनी प्रदुषणको आरोपमा समातिएका मोटरसाइकलमध्ये करिब ९० प्रतिशत रोयल इन्फिल्डको बुलेट र क्रसफायर रहेका छन् ।

हालसम्म यो अभियान अन्तर्गत ३६ जना मानिस र आठ सय ९८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएका छन्। मोडिफाइ कार्य गर्ने गराउने ३६ जनामध्ये २९ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गरिएको छ। अन्यलाई सम्झाएर परिवारको जिम्मा लगाइएको छ।

कारबाहीमा परेका आठ सय ९८ वटा मोटरसाइकलमध्ये तीन सय ६७ वटाको पाटके कारबाही परेको हुँदा यातायात व्यवस्था कार्यालयमार्फत कारबाही भएको छ।

Exit mobile version