त्रिभुवन विश्वविद्यालयद्वारा ३० अर्ब ८७ करोडको बजेट पारित

त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३-०८४ का लागि प्रस्तावित ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

बिहीबार विश्वविद्यालयको सभाको साधारण बैठकले रजिस्ट्रार रवीन्द्र सिवाकोटीले प्रस्तुत गरेको उक्त बजेट स्वीकृत गरेको हो ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ दशमलव ७७ प्रतिशतले बढी हो । सभाको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार सिवाकोटीले आन्तरिक स्रोतबाट १५ अर्ब ३६ करोड र सरकारको अनुदानबाट १५ अर्ब ६२ करोड रुपैयाँ बजेट प्रस्ताव गरेका थिए ।

सरकारले चालु आर्थिक वर्षको ७ अर्ब ३१ करोड रुपैयाँ त्रिभुवन विश्वविद्यालयलाई अनुदानका रूपमा दिएको छ । रजिस्ट्रार सिवाकोटीले सरकारले त्रिविलाई ४ अर्ब ८० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको कारण करिब ८ अर्ब ३१ करोड रुपैयाँ अपुग हुने बताए ।

रजिस्ट्रार शिवाकोटीका अनुसार कुल प्रस्तावित बजेटबाट सञ्चालन खर्चतर्फ कुल प्रस्तावित बजेटको ८६ दशमलव १४ प्रतिशत र पुँजीगत खर्चतर्फ कुल प्रस्तावित बजेटको १३ दशमलव ८६ प्रतिशतले हुन आउने रकम प्रक्षेपण गरिएको बताए ।

उनले अपुग रकम नेपाल सरकारबाट प्राप्त हुन नसकेमा अनिवार्य दायित्व शीर्षक अन्तर्गत खर्च समेत व्यहोर्न नसकिने अवस्था सरकारलाई जानकारी गराइसकेको जानकारी समेत दिए। उनले नपुग रकमको व्यवस्था मिलाइदिन त्रिविका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुरोध समेत गरे ।

Scroll to Top