संघीय गणतन्त्रात्मक राजनीतिक व्यवस्थामा राष्ट्रपतिको उच्चतम मर्यादालाई धुलिसात बनाउने काम विद्यादेवि भण्डारीबाट भएको छ ।
गणतन्त्रमा पहिलो राष्ट्रपति चयन भएपछि उक्त पद सदा सार्वजनिक हुनुपर्ने मान्यता रहिआए पनि पुर्वराष्ट्रपति भण्डारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी कार्यालयमा शपथ लिएकी छिन् ।
शपथ लिएसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अब (एमाले)को कार्यकर्ता हुँदै वरिष्ठ नेताको जिम्मेवारीमा आएकी छिन् ।
पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि भण्डारी औपचारिकरूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन्।
राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी भण्डारीको कार्यकाल सकिएपछि पार्टी राजनीतिमा उनको भूमिकाबारे चर्चा हुँदै आएको थियो।
एमालेले यसअघि असोज ८ गते भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको थियो।
उक्त निर्णयसँगै पार्टीका केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालय बैठकमा सहभागी हुने जिम्मेवारीसमेत उनलाई दिइएको छ।
गणतन्त्रकालमा पहिलो राष्ट्रपति डा रामवरण यादवले कार्यकालपछि स्वतन्त्र नागरिककारुपमा आफुलाई निष्पक्ष राखेपनि भण्डारीले त्यसलाई निरन्तरता दिन सकिनन् ।
त्यसो त पूर्वराष्ट्रपतिले पुनः सक्रिय राजनीतिमा आउन मिल्छ कि मिल्दैन भन्नेमा यसअघि बहस नभएको होइन । तर यो बहसको विषय नभएको र राष्ट्रपतिका मर्यादालाई कायम राख्ने जिम्मेवारी स्वयंको हुने आम बुझाई छ ।







