सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन – एमाले नेता बराल

नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले प्रभावकारी काम गर्ने भन्दै गठन भएको नयाँ सरकारले ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका हुन् ।

उनले सरकार बनेको सुरुवाती दिनमै सुकुम्वासी बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरिए पनि हालसम्म उनीहरूको उचित व्यवस्थापन हुन नसकेको बताए ।

संस्थानहरूमा राजनीतिक हस्तक्षेप र नियुक्ति गरिएको तथा पुरानै व्यवस्था ब्युँताउने विधेयक सदनमा ल्याइएको उनको भनाइ छ ।

त्यस्तै सांसद बरालले सरकार तथा प्रधानमन्त्री प्रतिनिधि सभाप्रति जबाफदेही हुन नसकेको र सार्वजनिक रूपमा उठेका प्रश्नहरूको सदनमा उपस्थित भएर जवाफ नदिएको उल्लेख गरे ।

उनले बजारमा महँगी, मिसावट, कृत्रिम अभाव नियन्त्रण हुन नसकेको तथा नागरिकलाई आधा सिलिन्डर ग्यास समेत सहज रूपमा दिन नसकेको बताए

भोटेकोशी, रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका क्षेत्रमा बाढी र विपदबाट हजारौँ जनता पीडित भएको र उद्धाररखोजी कार्यमा सरकार अलमलिएको उनले बताए ।

Scroll to Top