ढुंगा खस्दा गोठमा सुतिरहेका एकको मृत्यु, एक घाइते

डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका –०७ रावलबाडाका दुई जना गाईगोठमा सुतिरहेको अवस्थामा वर्षासँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् ।

शुक्रबार राति पौने १० बजे रावलबाडा बस्ने ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेको अवस्थामा वर्षासँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा मनरुप केसीको घटनास्थलमै मृत्यु भएको छ ।

ढुङ्गा लागेर चन्द्ररुपको ढाडमा चोट लागेकोमा निजको अवस्था सामान्य रहेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डोल्पा प्रहरीले जनाएको छ ।

Scroll to Top