तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानीस्थित एक ग्यारेजमा फलामको डण्डी प्रहारबाट शुक्रबार एक भारतीय नागरिकको मृत्यु भएको छ।
प्रहरीका अनुसार भारतको मोतिहारी जिल्ला घर भई उक्त ग्यारेजमा काम गर्दै आएका ५० वर्षीय लालवचन शाहलाई भारतको बेतिया जिल्ला घर भई सोही ग्यारेजमा कार्यरत ३२ वर्षीय जावेद आलमले मादक पदार्थ सेवन गरी फलामको डण्डीले टाउकोमा प्रहार गरेका थिए।
डण्डी प्रहारबाट गम्भीर घाइते भएका शाहलाई उपचारका लागि आँबुखैरेनी अस्पताल, तनहुँ लगिएको थियो। अस्पताल पुर्याइएका शाहलाई चिकित्सकले राति ८ः३५ बजे मृत घोषणा गरेका थिए।
घटना लगत्तै फरार भएका आलमलाई प्रहरीले आँबुखैरेनी गाउँपालिका–३ भित्री बजारबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







