मर्दीखोलाको जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन अपील

कास्कीस्थित मर्दीखोला नदीमा जलसतह बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो ४ बजे कास्कीको लाहाचोकस्थित मर्दीखोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले मर्दीखोलाको तल्लो तटीय क्षेत्र तथा नदी आसपासका डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई भोलिपल्ट बिहानसम्मै उच्च सतर्क रहन आग्रह गरिएको छ।

यसैगरी दिउँसो २ बजे जारी अर्को सूचनाअनुसार सुनसरीको सप्तकोशी चतारामा पनि बाढी बढ्दो क्रममा रहेको छ।

सप्तकोशीको बहाव बढ्दै गएकाले तल्लो तटीय र डुबानको जोखिममा रहने क्षेत्रका बासिन्दाहरूलाई पर्सिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।

Scroll to Top