म्याग्दीमा रहेको संसारको सातौँ ९आठ हजार १६७० मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका पर्वतारोही फर्किएका छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्ने धवलागिरि हिमाल आरोहणका लागि आधार शिविर क्षेत्रमा पुगेका पर्वतारोहीको टोली प्रतिकूल मौसमका कारण फर्किएका हुन् ।
आरोहण टोलीको समन्वय गरेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले आधार शिविरमा रहेका ३० जनाको पर्वतारोही टोली बिहीबार फर्किएको जानकारी दिए ।
‘असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचना र प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आरोहण टोली सुरक्षित ठाउँमा फर्किएका हुन्’, उनले भने, ‘चार दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर झरेका छन् ।’
केही पर्वतारोही भने हेलिकप्टरबाट पोखरा पुगेको शेरचनले बताउनुभयो । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार पर्वतारोही टोली धवलागिरि आधार शिविर पुगेका थिए । उक्त टोलीले बिहीबारदेखि मौसम प्रतिकूल हुन थालेपछि आरोहणलाई स्थगित गरेर सुरक्षित ठाउँमा फर्कने निर्णय गरेको शेरचनले बताए ।
मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेको छ ।
पर्यटन विभागले सार्वजनिक सूचना जारी गर्दै हिमाली क्षेत्रमा रहेका पर्वतारोहीलाई सतर्कता अपनाउन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मौसम अनुकूल नहुँदासम्म आधार शिविरतर्फ नजान अनुरोध गरेका छन् ।






