आगामी मंसिर महिना पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिरको १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको जानकारी दिइएको छ ।
प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगितामा गण्डकी प्रदेश, कोशी प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको सहभागिता रहने क्लबका कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए ।
एउटा टिमले ३ जना विदेशी खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको उनले बताए ।
प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।
प्रतियोगितामार्फत पोखरामा राष्ट्रियस्तरको पुरुष भलिबलको प्रतिस्पर्धात्मक वातावरण निर्माणसँगै खेलाडीलाई राष्ट्रिय खेल भलिबलको स्तरवृद्धि हुने क्लबका अध्यक्ष अशोक गुरुङले बताए ।







