बन्दीपुर अस्पतालमा ईभी माइक्रो सेवा सुरु, ६० लाखभन्दा बढीको स्वास्थ्य उपकरण सहयोग

शम्भु श्रेष्ठ,तनहुँ । बन्दिपुर अस्पतालमा सेवाग्राहीको सहजताका लागि ईभी माइक्रो सेवा सञ्चालनमा ल्याइएको छ । अस्पतालमा आउने ज्येष्ठ नागरिक, गर्भवती, फरक क्षमता भएका व्यक्ति तथा अन्य सेवाग्राहीलाई सहज यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले ईभी माइक्रो सेवा सुरु गरिएको हो ।

अस्पतालको प्राङ्गणमा आयोजित सेवा सञ्चालन तथा सम्मान कार्यक्रममा अस्पताललाई ६० लाखभन्दा बढी मूल्यका विभिन्न स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ चितवन चौतारी, डिस्ट्रिक्ट ३२५ आर, नेपालले करिब २५ लाख बराबरको सहयोग गरेको छ । उक्त सहयोगबाट थाइराइड परीक्षण मेसिन र कोएगुलेसन एनालाइजर (PT/INR) मेसिन उपलब्ध गराइएको छ ।

त्यस्तै, भरतपुरस्थित लोयल ट्रेडर्सले करिब ३० लाख बराबरका स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

सहयोगअन्तर्गत फुली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर, फुली अटोमेटिक हेमाटोलोजी (CBC 5 Parts) मेसिन तथा इलेक्ट्रोलाइट (Na⁺/K⁺) एनालाइजर उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

भरतपुरकै र्‍यापिङ ट्रेडर्सले करिब ५ लाख बराबरको सहयोग गर्दै CR एक्स–रे मेसिनको प्रिन्टर उपलब्ध गराएको छ ।

कार्यक्रममा सहयोगी दाता तथा संस्थालाई सम्मान गरिएको थियो भने अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ का योजना तथा कार्यक्रमबारे जानकारीसमेत गराइएको थियो ।

ईभी माइक्रो सेवा सञ्चालनसँगै अस्पतालमा आउने सेवाग्राहीलाई आवतजावतमा थप सहजता हुने अपेक्षा गरिएको छ ।

नयाँ स्वास्थ्य उपकरणको उपलब्धता र यातायात सेवाले बन्दीपुर अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Exit mobile version