कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोट चपाईँ चौतारामा नवर्निर्मित प्रहरी चौकी सराङकोटको भवन उद्घाटन गरिएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र घर्ती क्षेत्रीले बिहीबार नवर्निर्मित प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन्।
गण्डकी प्रदेश सरकारको स्वीकृत बजेटबाट २ करोड ४० लाख ४५ हजार ९ सय ८३ रुपैयाँ ६३ पैसा लागतमा प्रहरी चौकीको भवन निर्माण गरिएको हो।
०८१ असार २३ गते निर्माण सम्झौता भएकोमा कार्यालय भवन, मेस भवन, शौचालय, प्रतीक्षालय, गेट तथा पेरिमिटर निर्माण कार्य सम्पन्न भएपछि औपचारिक रूपमा उद्घाटन गरिएको प्रहरीले जनाएको छ।
उद्घाटन कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार, संघसंस्थाका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र, आमा समूह तथा टोल विकास संस्थाका अध्यक्ष एवं पदाधिकारीसहित स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी घर्ती क्षेत्रीले पछिल्लो समय सराङकोट पर्यटकीय हबका रूपमा विकास हुँदै गएको उल्लेख गरे।
प्याराग्लाइडिङ, केबलकार, धार्मिक तथा पर्यटकीय स्थलसँगै ठूला होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र प्रहरी सेवा विस्तार गर्न नवर्निर्मित प्रहरी चौकीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए।
कार्यक्रममा प्रहरी चौकी सराङकोटको भवन निर्माण तथा व्यवस्थापनमा सहयोग गर्ने सम्बन्धित पक्षप्रति धन्यवाद व्यक्त गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नवीन कार्कीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
