पोखरा उद्योग वाणिज्य संघले वर्षेनि आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई यो वर्ष पनि निरन्तरता दिने भएको छ ।
संघको बुधबार बसेको दोस्रो कार्यसमिति बैठकले अध्यक्ष शोभा गौतमलाई नै मेला कार्यसम्पादन समितिको संयोजकको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।
संघका महासचिव सुदिप प्रधानाङ्गका अनुसार मेलाको मिति भने बस्तुगत संघ तथा साझेदारहरुसँगको बैठकपछि तय गरिने छ ।
संघकी अध्यक्ष गौतमको अध्यक्षतामा बसेको बैठकले सदस्य तथा गैरसदस्य उद्योगी-व्यवसायीमाथि आइपर्ने समस्या समाधानको पहल गर्ने ‘हेल्प डेक्स’ संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलालाई सुम्पेको छ ।
यस्तै प्रशासन तथा सदस्यता उपसमितिको जिम्मेवारी महासचिव प्रधानाङ्ग,आर्थिक प्रशासन उपसमितिको जिम्मेवारी कोषाध्यक्ष देवेन्सन प्रजू र बस्तुगत संघ-संस्था समन्वय उपसमिति संयोजकको जिम्मेवारी लक्ष्मीप्रसाद अधिकारीलाई सुम्पिएको छ ।
