आहा ! राराको हिसाब: आम्दानी १ करोड ३० लाख, बचत ३ लाख २१ हजार

सहारा क्लब पोखराले २५औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

क्लबले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताबाट १ करोड ३३ लाख २३ हजार ४८५ रुपैयाँ ३७ पैसा आम्दानी भएको छ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ३० लाख १ हजार ६४६ रुपैयाँ खर्च कटाएर ३ लाख २१ हजार ८३९ रुपैयाँ ३७ पैसा बचत भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न भएको लामो समयपछि आय–व्यय विवरण सार्वजनिक गरिएको हो । आर्थिक पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै प्रतियोगिताको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरिएको अध्यक्ष थापाले बताए ।

प्रतियोगिताबाट बचत भएको रकम पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित कठिन परिस्थितिका तथा विपन्न वर्गका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य र फुटबल प्रशिक्षणमा खर्च गरिने थापाले बताए। सहारा क्लबले फुटबल प्रतियोगितासँगै सामाजिक सेवाको कामलाई समेत निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! तथा रारा तयारी चाउचाउ रहेको थियो। हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले पछिल्लो समय फुटबल प्रतियोगिता सञ्चालन गर्न चुनौती बढ्दै गएको बताए । प्रतियोगिता आयोजना गर्न आर्थिक तथा व्यवस्थापकीय पक्षमा विभिन्न कठिनाइ देखिन थालेकाले यस्ता प्रतियोगिताको निरन्तरताका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

फुटबलको विकास र प्रतियोगिताको निरन्तरताका लागि निजी क्षेत्रसँगै सरकार, खेलकुदसँग सम्बन्धित निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला एक ठाउँमा उभिनुपर्ने केसीले बताए । आहा ! रारा पोखरा गोल्डकपजस्ता लामो इतिहास बोकेका प्रतियोगितालाई निरन्तरता दिन सबैको साझा सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले आहा ! रारा पोखरा गोल्डकपले लामो समयदेखि पोखराको खेलकुद क्षेत्रमा महत्वपूर्ण विरासत बोकेको बताए । यस्तो ऐतिहासिक प्रतियोगिताप्रति अपनत्व खेलकुदसँग सम्बन्धित मन्त्रालय तथा राज्यका निकायले लिनुपर्नेमा उनले जोड दिए ।

प्रतियोगिताको निरन्तरताका लागि हरेक वर्ष निजी क्षेत्र र आयोजक मात्रै निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै राज्यले पनि जिम्मेवारी लिनुपर्ने मर्सानीको भनाइ थियो । पोखराको पहिचानसँग जोडिएको यस्ता प्रतियोगितालाई संरक्षण र प्रवद्र्धन गर्न सरकार तथा खेलकुद मन्त्रालयको स्पष्ट भूमिका आवश्यक रहेको उनले बताए ।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति कास्की, अखिल नेपाल फुटबल संघ (एन्फा), प्रदेश तथा स्थानीय सरकार, सहयोगी संस्था, सहारा क्लबका शाखा, सहभागी टोली तथा खेलाडी, दर्शक, सुरक्षा निकाय, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति क्लबले आभार व्यक्त गरेको छ ।

Scroll to Top