जेन जी आन्दोलनका दौरान पोखरा महानगरपालिका र वडा कार्यालय जलाउने नेतृत्वहरुलाई सम्झँदै मेयर धनराज आचार्यले उनीहरुको सदा उन्नतिको कामना गरेका छन् ।
‘०८४ को स्थानीय निर्वाचनमा जितेर आउनुहोस्’ भन्दै मेयर आचार्यले त्यसपछि जलेका कार्यालय र संरचनाहको महत्व थाहा हुने उल्लेख गरेका छन् ।
‘हिजो जुन सम्पत्ति जलाइयो, भोली त्यसैको संरक्षण गर्ने जिम्मेवार बहन गर्नुपर्दा सोच्नुहोला’ आचार्यले फेसबुकमा भनेका छन् ।
यस्तो छ उनको भनाईः
महानगरपालिका कार्यालय र वडा कार्यालयहरु जलाउन नेतृत्व गर्ने प्रिय मित्रहरु !!
महानगरपालिका र अन्य सरकारी सम्पत्ति जलाउन नेतृत्व गर्ने तपाईंहरू नै २०८४ सालको निर्वाचनमा उम्मेदवार बनेर चुनाव लड्नुहोस्। जित्नुभयो भने तपाईं पनि जनप्रतिनिधि बन्नुहुनेछ।
त्यसपछि निर्वाचन सम्पन्न भएको केही समयपछि (नतिजा आउनु पुर्व) आजको दिनलाई एकपटक सम्झनुहोला—महानगरपालिका, नगरपालिका तथा वडा कार्यालयहरू मेयर, उपमेयर वा वडा अध्यक्षका निजी घर हुन् कि राज्यका सरकारी सम्पत्ति ?
नतिजा आएपछि यदि बिजय हुनु भयो भने फेरि सोच्नु र सम्झनुहोला।
आजकै दिन गत बर्ष जुन सम्पत्तिमाथि आगजनी र क्षति पुर्याउन नेतृत्व गरिँदै थियो भोलि त्यही सम्पत्तिको संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी तपाईंहरूकै काँधमा आउन सक्छ।
समयले सबैलाई आफ्नो कर्मको हिसाब अवश्य सम्झाउँछ।
तपाईंहरूको सदा उन्नति होस्। शुभकामना!
फाइल तस्बिर
