फेवातालबाट बेहोशीमा उध्दार गरिएका आयुषको मृत्यु

पोखरा । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीले उनलाई तालबाट अचेत अवस्थामा उद्धार गरे पनि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

कास्कीको पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि तामाङ शनिबार घुम्न आएका थिए । सोही क्रममा कायकिङ गर्दा उनी तालमा डुबेका हुन् ।

उनी डुबेको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वाटर कालिका फेवा रेस्क्यु टावरबाट टोली खटिएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोरसहितको विपद् उद्धार टोली घटनास्थल पुगेको थियो ।

टोलीले आवश्यक उद्धार सामग्रीको प्रयोग गरी तालमा खोजतलास सुरु गरेको थियो ।

गोताखोर टोलीले दिउँसो २ बजेर ५० मिनेटमा तालको करिब ३० फिट गहिराइबाट तामाङलाई फेला पारेको थियो ।

Scroll to Top