टानका पूर्व अध्यक्ष भुजेल पोखरा पर्यटनको अध्यक्ष निर्वाचित

पोखरा पर्यटन परिषदको नयाँ अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् ।

परिषदको २६ औं साधारण सभा तथा १४ औं अधिवेशनले भुजेललाई नेतृत्व सुम्पिएको हो । उनले आफ्ना प्रतिद्वन्द्वी कृष्ण भण्डारीलाई १४ मतान्तरले पराजित गरे ।

३९ प्रतिनिधि रहेको परिषदमा भुजेलले २५ मत प्राप्त गरे । भण्डारीले भने ११ मत मात्रै पाए । निर्वाचनमा ३ मत बदर भएको थियो ।

नवनिर्वाचित अध्यक्ष भुजेल टानका पूर्व अध्यक्ष समेत हुन् । अधिवेशनले परिषदको सदस्यहरुमा ५ जनालाई सर्वसम्मत चयन गरेको छ ।

सदस्यहरुमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई र शोभा अधिकारी सापकोटा चुनिएका छन् । त्यसैगरी जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी पनि सदस्यमा चयन भए ।

परिषदको नयाँ कार्यसमितिले पदाधिकारीहरु भने पछि मनोनयन गर्नेछ । जसमा प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पद रहेका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले अधिवेशनको उद्‌घाटन गरे । पोखराको पर्यटन विकासमा सरकारको भूमिकाका विषयमा उनले आफ्ना धारणा राखे ।

पोखराको दिगो तथा गुणस्तरीय पर्यटन विकासका लागि सरकार गम्भीर रूपमा अघि बढिरहेको छ,’ उनले भने ।

Scroll to Top