पोखरा उद्योग वाणिज्य संघले २०८१–२०८३ कार्यकालको कार्यसमिति बैठक तथा कार्यक्रमहरूको उपस्थिति विवरण सार्वजनिक गरेको छ ।
संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अध्यक्ष गोकर्ण कार्की बैठकहरूमा सबैभन्दा बढी सक्रिय देखिएका छन् ।
विवरण अनुसार अध्यक्ष कार्की पदाधिकारी र कार्यसमिति दुवै बैठकमा शतप्रतिशत उपस्थित भए ।
उनले ३६ वटा पदाधिकारी बैठक र ३१ वटा कार्यसमिति बैठकमा पूर्ण सहभागिता जनाए । यस्तै, संघद्वारा आयोजित ९६ वटा कार्यक्रममध्ये उनी ८९ वटामा सहभागी भए, जुन ९२.७१ प्रतिशत हो ।
कार्यसमिति सदस्य दुर्गा बराल पनि कार्यसमिति बैठकमा १०० प्रतिशत उपस्थित भए । पदाधिकारीतर्फ महासचिव शोभा गौतमको ८८.८९ प्रतिशत र उपमहासचिव सुदिप प्रधानाङ्गको ७७.७८ प्रतिशत उपस्थिति देखियो ।
वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य र उपाध्यक्षद्वय दिनेशचन्द्र बास्तोला तथा बलराम आचार्यको उपस्थिति क्रमशः ५२.७८ प्रतिशत र ७५ प्रतिशत रह्यो ।
तथ्याङ्क अनुसार पूर्व अध्यक्ष पवन कुमार प्रजापतिको उपस्थिति भने न्यून देखिएको छ । उनी पदाधिकारी बैठकमा २५ प्रतिशत र कार्यसमिति बैठकमा ३२.२६ प्रतिशत मात्र उपस्थित भए ।
यस्तै, कार्यसमिति सदस्य सौगात थापाको उपस्थिति कार्यसमिति बैठकमा १६.१३ प्रतिशत र कार्यक्रमहरूमा ४.१७ प्रतिशत मात्र रह्यो ।
आमन्त्रित सदस्यहरूमध्ये नेपाली युवा उद्यमी मञ्च पोखराको उपस्थिति सबैभन्दा कम ३.२३ प्रतिशत मात्र देखिएको छ । मनोनित सदस्यहरूमा मनहरी पौडेलको उपस्थिति ९६.४३ प्रतिशत र सोंवित पौडेलको २७.५९ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।
संघको कार्यसम्पादनलाई पारदर्शी बनाउन र सदस्यहरूको सक्रियता मापन गर्न यो विवरण सार्वजनिक गरिएको संघले बताए ।
यस विवरणले संघका कतिपय जिम्मेवार पदमा रहेका व्यक्तिहरूको उपस्थिति कमजोर रहेको समेत देखाएको छ ।
