एकपटक नेकपा माओवादीको अध्यक्ष छँदै पुष्पकमल दाहालले संसदमा कमजोर सिट भएपनि आफुसँग ‘म्याजिक नम्बर’ भएको बताउँदै शक्ति संघर्षमा पाखा लगाउन नसक्ने अभिव्यक्ति दिएका थिए ।
०७९ सालको निर्वाचनमा जम्मा ३२ सिट भएको माओवादी पछिल्लो निर्वाचन अघिसम्म कुनैपनि दलको सरकारमा सामेल हुने र महत्वपुर्ण मन्त्रालय हात पार्ने दल बनेको थियो । कहिले एमाले त कहिले कांग्रेसको बुई चढ्न सक्षम त्यही ३२ सिटलाई उनले ‘म्याजिक नम्बर’ भनेका थिए ।
त्यो त भयो ३२ सिट ल्याएर अघिल्लो संसदमा तेस्रो हुने माओवादी धक्कु । तर, यता गण्डकीमा भने जम्मा १ सिट, जसको हाल दल पनि छैन, उही तेस्रो पटक मन्त्री बन्न सफल भएको छ ।
जसको नाम हो, फणिन्द्र देवकोटा । र, उनको पार्टीको नाम नेपाल समाजवादी पार्टी ।
पछिल्लो समय सरकार परिवर्तनको खेलमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अल्झिएपनि देवकोटाले आज तेस्रो पटक मन्त्रीको शपथ लिएका छन् ।
गण्डकी सरकारबाट एमालेका ४ जना बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री पाण्डेले उनलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
देवकोटलाई यसअघि सम्हालिसकेको ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालयकै जिम्मा दिइएको छ । यस मन्त्रालयका नन्दप्रसाद न्यौपाले भौतिक मन्त्रालयको जिम्मा पाएका छन् ।
पाण्डे नेतृत्वको सरकारमा देवकोटा तेस्रोपटक मन्त्री बनेका हुन् । पहिला ऊर्जा मन्त्रीको जिम्मा पाएका उनलाई तत्कालीन एकीकृत माओवादीले कारवाही गरेपछि पदबाट बाहिरिएका थिए ।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि देवकोटाको मन्त्री पदमा पुनरागमन सम्भव भएको थियो । माओवादी केन्द्रको सिफारिसमा उनलाई सांसद पदबाट मुक्त गरिएपछि उनी मन्त्री पदबाट समेत हटेका थिए ।
तर सर्वोच्चले उनलाई सांसदका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेपछि मुख्यमन्त्री पाण्डेले उनलाई पुनः सरकारमा सामेल गराएका थिए ।
देवकोटा उनै मन्त्री हुन्, जो जेनजी आन्दोलनपछि मन्त्री पद त्यागेर अर्धभूमिगत भएका थिए । अहिले उनै देवकोटालाई मन्त्रालयमा स्वागत गरेर मुख्यमन्त्री पाण्डे राप्रपाको समर्थनमा कार्यकाल पुरा गर्ने ध्याउन्नमा रहेका छन् ।
देवकोटा २०७९ सालको आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क)बाट निर्वाचित भएका थिए ।
नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच त्यसबेला भएको चुनावी सहकार्यमा जितेका देवकोटाको चुनाव चिन्ह भने माओवादीकै ‘गोलाकार भित्रको हँसिया हथौडा’ रहेको थियो ।







