बाढी प्रभावितका लागि राहत कोषमा पैसा जम्मा गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौचर पोस्ट गर्ने एक जना पक्राउ परेका छन्।
रामेछाप प्रहरीले गोकुलगंगा गाउँपालिका-२ ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रूपैयाँ सहयोग गरेको भनेर सामाजिक सञ्जालमा भौचर पोस्ट गरेका थिए।
तर उक्त भौचर च्याटजिपिटी प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेको खुलेको प्रहरी निरिक्षक राउतले जानकारी दिए।
कार्कीले कोषमा सहयोग गरेको भनेर आफ्नो क्युआर कोडसमेत सामाजिक सञ्जालमा पोस्ट गरी त्यसबाट ठगी गरेको प्रहरीले जनाएको छ।







